बैशाख २१, काठमाडौँ। आसन्न राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । केन्द्रीय तथ्यांक विभाग, योजना आयोग र अन्य निकायसँगको छलफल र सिफारिसमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना स्थगित गर्ने निर्णय गरेको हो । यही २५ जेठदेखि ८ असारसम्म देशभर जनगणना गर्ने कार्यक्रम थियो ।
विभागलाई आधिकारिक जानकारी नआए पनि स्थगित गर्नका लागि सिफारिस भएअनुसार निर्णय भइसकेको जानकारी आएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । ‘अहिलेको असहज अवस्थाले गर्दा जनगणना स्थगित गरिएको हो,’ उनले भने । सहज हुनेबित्तिकै ०७८ सालभित्रै जनगणना गर्ने विभागको तयारी छ । विभागका अनुसार जनगणनाका सम्पूर्ण काम सम्पन्न भइसकेका छन् । ‘तालिम दिएर घर–घरमा खटाउने काम मात्र थियो, तर अहिले असहज अवस्थाले गर्दा रोक्नुपर्ने भयो,’ महानिर्देशकले भने । नागरिकको जिउज्यान र स्वास्थ्यभन्दा अन्य विषय ठूलो नभएकाले पनि त्यसैलाई ध्यानमा राखेर स्थगित गर्नुपरेको उनको भनाइ छ ।
आगामी जनगणना जनगणनाको १२औँ शृंखला हो । यसअघि ०६८ सालसम्म ११ वटा शृंखला सम्पन्न भइसकेका छन् । त्यस्तै, देश संघीयतामा गएपछिको यो पहिलो जनगणना हो ।
प्रतिक्रिया दिनुहोस