कुशादेवीकी एक बुढी आमा, जो १७ वर्षदेखि वेपत्ता छोराको पर्खाइमा बाचिरहेको आशा 

नौलो समाचार संवाददाता
२०७९ श्रावण १०, मंगलबार मा प्रकाशित २९९८ पटक पढिएको

कुशादेवीकी एक बुढी आमा, जो १७ वर्षदेखि वेपत्ता छोराको पर्खाइमा बाचिरहेको आशा 

साउन १०, काभ्रे। पनौती नगरपालिका-३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो। विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो। वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको छ। दमको रोगले अझ बढी सताउदै छ। डाक्टरले उहाँलाई पत्थरी पनि छ भनेका छन्।

भोको पेटले खाना खोजिहाल्छ, विहान वेलुकी छाक टार्न चुल्लो बाल्नै प¥यो। सकि नसकि भएपनि एक गिलास पानी तताएर खानै प¥यो। चुल्ला माथि हरेक दिन साँझ दियो बाल्दा चहकिलो भएर बल्छ। हरेक दिन साँझवत्ति चहकिलो हुदा यी बुढी आमालाई वेपत्ता भएको छोरा एकदिन आमा भन्दै आउने आशा जाग्छ। आफ्नो छोरा भेट्ने अन्तिम इच्छा राखेर बाचेको बताउने मैया भन्नुहुन्छ- भगवानले मेरो इच्छा पुरा गरिदिने छन्।

पहिला कुशादेवी बाझाचौर बस्ने मैया सापकोटाको श्रीमान विष्णुप्रसाद सापकोटाको मृत्यु भएको पनि २० वर्ष भयो। केहि वर्ष बनेपामा बसोबास गर्नुभएको मैयाको छोरा हरिप्रसाद सापकोटा २०३५ सालमा जन्मेका थिए। पिताको मृत्युपछि काजकिरिया गरेका छोरा हरिप्रसाद दुईतीन वर्ष श्राद्ध पनि गरेको बताउदै मैया भन्नुहुन्छ- त्यसपछि हेटौडामा काम गर्न जान्छु भनेर गएको छोरा अहिले सम्म फर्केको छैन।

‘पुसका २० गते छोरा हिडेको १७ वर्ष पुग्छ’ गहभरी आशु झार्दै यी वुढीआमा भन्नुहुन्छ-छोरा आउछ भन्ने आशाले कत्ति दुख गरेर बाचिरहेको छु।


माइतीको सहयोगमा कुशादेवी ३ घिमिरे गाउँमा १ रोपनी २ आना जग्गामा छाप्रो बनाएर बसिरहनु भएको वुढी आमा मैया सापकोटालाई भेट्न सञ्चारकर्मीहरु पुग्दा ढिडो पकाउन पानी उमाल्नको लागि आगो फुक्दै हुनुहुन्थ्यो। ‘बिरामी छु, अस्पताल जान सक्दिन, छोरा संगै भएको भए अस्पतालमा जचाउन लैजान्थ्यो होला’ उहाँ भन्नुहुन्छ- मेरो दुख बुझ्ने एउटा छोरी थिइ त्यसको पनि ग्यास पड्केर मृत्यु भयो। उहाँको छोरी अनिताको १२ वर्ष अघि बनेपामा कोठामा भान्साको ग्यास पड्कीदा मृत्यु भएको थियो।

स्थानीय बासिन्दा महेश थापाको अनुसार यी आमाको छोराको खोजिको लागि सञ्चारकर्मीहरुलाई आग्रह गर्दै उहाँको जिवन यापनको लागि सक्दो सहयोग गर्ने बताउनुहुन्छ। छोरा हरिप्रसाद सापकोटा आउने आशामा एक्लै बाचिरहुनु भएकी यी वृद्धा आमाको दैनिकी सहज बनाउन सकेसम्म सबैले सहयोग गरौं भन्दै थापाले आफ्नो तर्फबाट निरन्तर सहयोग गरिरहेको बताउनुभयो।

आफै खेति किसानी गर्न सक्नुहुन्न। भएको जग्गाको उब्जनीले खान पुग्दैन। विरामी भएको कारण सरकारले उपलब्ध गराउने वृद्धभत्ता लिन जान समेत धौ धौ हुने यी आमालाई दैनिक चाहिने खाद्यान्न र पानी ल्याउन पनि समस्या छ। ‘छोरा आइदिए हुन्थ्यो भन्ने छ, हरेक दिन साझ बत्ति बाल्छु, उज्यालो देखिन्छ’ यी बुढी आमा भन्नुहुन्छ- अनि म विन्ति गर्दै भन्छु मेरो छोरा आइदियोस्।


प्रतिक्रिया दिनुहोस