इन्जाको अन्तराष्ट्रिय सम्मेलन टोकियोमा सुरु

नौलो समाचार संवाददाता
२०८० फागुन १७, बिहिबार मा प्रकाशित ५८ पटक पढिएको
इन्जाको अन्तराष्ट्रिय सम्मेलन टोकियोमा सुरु

टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इन्जा)को अन्तराष्ट्रिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ ।

जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गरे ।

इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताउदै इन्जाको पवित्र उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्याउन अन्य संघसंस्थाहरुलाई आग्रह गरे ।  नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थरुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मुल्यांकन गर्दै उनले जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा राखे ।

इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एशिया शाखाका अध्यक्ष टंक पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एशिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुंग, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलबद्ध गर्न पुर्याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गरे ।

सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारहरुलाई उपचारलगायतमा सहयोग गर्दै आइरहेको छ । पत्रकारिताको विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रिय सदस्य ध्रुव पौडेल, बिनेश खनाल, इन्जा एसियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस