काठमाडौं / कवयत्री तारादेवी सुनुवारद्वारा लिखित १०१ वटा फुटकर कविताको सङ्ग्रह ‘जिर्मा’ माथि परिचर्चा गरिएको छ ।
सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा काठमाडौंमा भएको कार्यक्रमा कवितासंग्रहका विषयबस्तु र विभिन्न पक्षबारे चर्चा परिचर्चा गरियो ।
कृतिमाथि डा. अशोक थापा, कुमारी लामा र कवि अमरदीप सुनुवारले ‘जिर्मा’ ले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनका विविध पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको टिप्पणी गरे ।
लेखक सुनुवारले ‘जिर्मा’ आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरूको सङ्ग्रह भएको बताउँदै समाज अध्ययनका क्रममा भेटिएका विषयवस्तुलाई कवितामा उतारेको बताइन् । उनले सुनुवार जातिको संस्कार, संस्कृति र ऐतिहासिकतालाई केन्द्रमा राखेर यी कविताहरूले आदिवासीको सुगन्धलाई प्रतिनिधित्व गरेको तर्क गरिन् ।
समाजले प्रकाशन गरेको स्मारिका पनि सोही कार्यक्रममा सार्वजनिक गरियो ।
कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार मन्त्री सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको तर्क गर्दै आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उच्च बनाउन निष्ठापूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष अमरदीप सुनुवारले राज्य तथा राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै समाजद्वारा प्रकाशित दोस्रो स्मारिकाले समुदायको योगदान, अनुभव, इतिहास तथा सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको बताए ।




प्रतिक्रिया दिनुहोस