धुलिखेल । नेपाल र चीनबीच फूलमार्फत सांस्कृतिक तथा मैत्रीपूर्ण आदानप्रदान प्रवद्र्धन गर्ने उद्देश्यका साथ काभ्रेपलाञ्चोकको धुलिखेलस्थित देवीस्थानमा चीनको प्रसिद्ध फूल ‘हच पियोनी’(Heze Peony) को बगैंचा निर्माण गरिएको छ ।
उक्त बगैंचाको आज (सोमबार) नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, हच सहरका प्रतिनिधि फेङ विइज, धुलिखेल नगरपालिकाका कार्यवहाक प्रमुख निराजन जंगमले संयुक्त रुपमा उद्दघाटन गरेका हुन् । होटल एशोसिएसन नेपाल, धुलिखेल काभ्रेपलाञ्चोकसंगको सहकार्यमा धुलिखेल नगरपालिकाले बगैंचा व्यवस्थापन गर्नेछ ।
दुई देशबीच राष्ट्रिय तथा प्रसिद्ध फूलहरूको आदानप्रदान गर्ने ‘युनिभर्सल ब्लसम्स’ (Universal Blossoms) परियोजनाअन्तर्गत धुलिखेलमा यो बगैंचा निर्माण भएको हो । यसअघि सन् २०२६ अप्रिल ११ मा चीनको पूर्वी प्रान्त शानडोङ (Shandong) को हच (Heze) सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचा (Guanyu Peony Garden) भित्र ‘नेपाल लालीगुराँस बगैंचा’ (Nepal Rhododendron Garden) को संयुक्त रूपमा उद्घाटन भइसकेको छ ।

पर्यटन र हरित मैत्री सम्बन्धमा टेवा‘चीनको पियोनी राजधानी’ (China’s Peony Capital) का रूपमा परिचित हच सहरमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको बगैंचा र पर्यटकीय नगर धुलिखेलको देवीस्थानमा चीनको हच पियोनी बगैंचा निर्माण हुनुलाई दुई देशबीचको जनस्तरको सम्बन्धको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको होटल एशोसिएसन नेपाल, धुलिखेल काभ्रेपलाञ्चोकका अध्यक्ष प्रल्हाद प्याकुरेलले जानकारी दिए ।
देवीस्थानमा बन्ने यस बगैंचाले धुलिखेलको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ ।
समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले पियोनी फूलको राजधानी मानिने चीनको ‘हच’ (Heze) सहर आफ्नो गृहनगर भएको उल्लेख गर्दै यस बगैंचाले दुई देशबीचको भावनात्मक सम्बन्धलाई जोडेको बताए । हिमाल र नदीले जोडिएका नेपाल र चीन असल मित्र राष्ट्र रहेको चर्चा गर्दै राजदूत माओमिङले दुई देशका १७ वटा सहरहरूबीच भगिनी (मैत्री) सम्बन्ध स्थापित भइसकेको जानकारी दिए । उहाँले दुवै देशका नागरिकहरूलाई एकअर्काको सहर भ्रमण गर्न निमन्त्रणा तथा प्रोत्साहन समेत गरे ।
कार्यक्रममा चीनको हच सहरका प्रतिनिधि फङ वेइ चेले नेपाल र चीनले विगत ७१ वर्षदेखि एकअर्कालाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै यस्ता परियोजनामार्फत दुई देशबीचको सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे ।

धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले चिनियाँ पक्षबाट प्राप्त यो बगैंचालाई धुलिखेलका लागि एक अमूल्य उपहारको रूपमा लिएको बताउँदै पियोनी जस्तो आकर्षक फूलले धुलिखेलको सौन्दर्य बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख जंगमले यस कार्यलाई दुई देशबीचको मित्रता र सहकार्यको अनुपम उदाहरणको संज्ञा दिए ।
उद्दघाटन समारोहमा चीनका लागि नेपाली पूर्व राजदूतहरु, नेपाल–चीन व्यापार संघका अध्यक्ष सुवासकाजी श्रेष्ठ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस