कोरोनाभाइरसको त्रासः कुवेत पूरै ‘लकडाउन’

नौलो समाचार संवाददाता
२०७६ फागुन २९, बिहिबार मा प्रकाशित ४७६ पटक पढिएको

कोरोनाभाइरसको त्रासः कुवेत पूरै ‘लकडाउन’

फागुन २९, एजेन्सी । कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कुवेत टाइम्सका अनुसार मन्त्रिपरिषदको बैठकले कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान ठप्प गर्ने निर्णय गरेको छ । सरकारले देशभर सार्वजनिक घोषण गरेको छ र सबै पब्लिक क्षेत्रका कर्मचारीलाई विदामा पठाएको छ ।

अन्य देशबाट कुवेत फर्किने कुवेती नागरिकहरुको लागि उडान सरकारले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । जसको अर्थ कुवेत बाहिरी संसारबाट पूरै कट अफ हुने भएको छ । कार्गो विमान भने संचालन हुनेछन् ।

मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । मलभित्रका रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जीमहरु, स्पोर्ट र हेल्थ क्लवहरु पनि बन्द गर्न आदेश दिइएको छ ।

सरकारको निर्णयपछि देशमा कर्फ्यु नै लगाइएको हल्ला चले पनि सरकारले यो कर्फ्यु नभएको बताएको छ । बैंकहरु पनि मार्च १२ देखि मार्च २६ सम्म बन्द गर्ने निर्णय गरिएको छ । सबै कारोबार अनलाइनबाट गर्न सकिने बैंकिङ एसोसिएसनले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले फेब्रुअरी २७ पछि देश फर्केकाहरुमा अनिवार्य कोरोनाभाइरस परीक्षण गर्नुपर्ने नियम बनाएको छ । मन्त्रालयले परीक्षण केन्द्रहरु स्थापना गरेको छ जहाँ बिहन ८ बजेदेखि बेलुकी ६ बजेसम्म कोरोनाभाइरस संक्रमणको परीक्षण गराउन सकिनेछ ।

परीक्षण गराउन जानेले नागरिकता र पासपोर्ट साथमा लिएर जानुपर्नेछ । मार्च १२ मा जोहरा गभर्नरेट, मार्च १३ मा मुबारक अल कबीर गभर्नरेट, मार्च १४ मा फरवानिया गभर्नरेट, मार्च १५ मा हवाली गभर्नरेट, मार्च १६ मा अहमदी गभर्नरेट र मार्च १७ मा राजधानी गभर्नरेटमा परीक्षण शिविर संचालन हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस