गोरखा भूकम्पको पाँच वर्ष पूराः पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै भएन पूरा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ४३५ पटक पढिएको

गोरखा भूकम्पको पाँच वर्ष पूराः पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै भएन पूरा

बैशाख १२, काठमाडौं । करिब नौं हजार मानिसको ज्यान लाने गरी गएको गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ ।

२०७२ साल वैशाख १२ गते अर्थात् आजैका दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

भूकम्पमा परेर आठ हजार सात सय ९० मानिसको मृत्यु भएको थियो भने करिब २२ हजार नागरिक घाइते भएका थिए ।

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर १४ जिल्लामा धेरै क्षति भएको थियो ।

खर्बौको क्षति हुने गरी ध्वस्त भएका भौतिक संरचनाहरु पाँच वर्ष पुग्दा पनि ठडिन सकेका छैनन् । भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवनलगायत संरचना पुनर्निर्माणको काम जारी नै छ ।

भूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो ।

भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएको, लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेको, एक लाख ९० हजार घर बन्ने क्रममा रहेको र बाँकी घर पनि यसै आर्थिक वर्षभित्रमा बनिसक्ने दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ ।

करिब ७० हजार घरको प्रबलीकरणको काम बाँकी नै छ । भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको पनि जनाइएको छ ।

९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको प्राधिकरणले जनाए पनि महत्वपूर्ण धरोहर मानिएका धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबारलगायतको पुनर्निर्माणको काम भने अझै सम्पन्न भएको छैन ।

पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला कोरोना भाइरसको चुनौति थपिएको, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस