लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे, एकै दिनमा १२ हजारभन्दा बढीकाे प्रवेश

उपत्यकामा काेराेना भयावह हुने संकेत
नौलो समाचार संवाददाता
२०७७ अषाढ २, मंगलबार मा प्रकाशित १३७० पटक पढिएको

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे, एकै दिनमा १२ हजारभन्दा बढीकाे प्रवेश

असार २, काठमाडौं । सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको बताए। उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ। एक सय पाँचजना पास देखाई  उपत्यकामा प्रवेश गरेका छन्। तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन्।

प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ। ‘पास नलिईकन आउने सवारीसाधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने, ‘तर उपत्यकामा खुकुलो पारेसँगै त्यसकोे प्रत्यक्ष असर नाकामा परेको छ।’

त्यस्तै भक्तपुर प्रवेश गर्ने साँगा नाकाबाट पनि उपत्यका प्रवेश गर्नेको संख्या बढेको छ। सोमबार मात्रै भक्तपुरको जगाती नाकाबाट तीन हजार बढी सवारीसाधन उपत्यका प्रवेश गरेको प्रहरी वृत्त जगातीले जनाएको छ। प्रहरीले सीमित व्यक्तिहरूलाई मात्रै उपत्यका प्रवेश गर्न दिइएको बताए पनि प्रत्यक्षदर्शीले निर्बाध तवरले मानिसहरू उपत्यका छिरेको बताउँछन्।

निजी क्षेत्रका व्यवसायीहरूले सबैखाले पसल व्यवसाय खोल्न थालेपछि त्यसको दबाब सरकारलाई परेको बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उपत्यकाका विभिन्न नाकाबाट १२ हजारभन्दा बढी यात्रु प्रवेश गरेका छन्। प्रहरीले पास हेरेर मात्रै उपत्यका प्रवेश दिएको छ। तर भित्रिनेको संख्या धेरै रहेकाले प्रहरीलाई समेत दबाब परेको छ। कोरोना संक्रमितको संख्या बढिरहेको बेला सीमा नाकाबाट सहजै प्रवेश गर्न दिँदा उपत्यकामा पनि भयावह हुने डर देखिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी राजकुमार केसीले उपत्यकामा नाकाहरूमा बिनापास छिर्न नदिइएको दाबी गरे। उनले भक्तपुर, थानकोट, दक्षिणकाली, साँखु क्षेत्रका नाकाहरूमा प्रहरीले सक्दो कडाइ गरेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस