पाँचखालमा प्रधानमन्त्रीले शिलान्यास गरे महिला उद्यमी हरित औद्योगिक पार्क

नौलो समाचार संवाददाता
२०८० मंसिर २७, बुधबार मा प्रकाशित २१७ पटक पढिएको
पाँचखालमा प्रधानमन्त्रीले शिलान्यास गरे महिला उद्यमी हरित औद्योगिक पार्क

होक्से – प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचखाल नगरपालिका वडा नं ७ मा बन्ने महिला उद्यमी हरित औद्योगिक पार्क शिलान्यास गरेका छन् ।

दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा ग्राम निर्माण हुन लागेको हो ।

पाँचखाल नगरपालिकाले वडा नं ७ (साविक होक्से गाविस)मा ग्राम निर्माणको लागि कित्ता नम्बर ८९, ९० र ११३ को करिब ५ हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने गरी नगर प्रमुख महेश खरेल, दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजाल र महिला उद्यमी महासंघ, नेपालका अध्यक्ष शारदा रिजालबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार, पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन् । स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिने उनले बताइन् । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् ।

पार्क शिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा विभिन्न स्वरुपमा हरित क्रान्ति सुरुवात हुदै गरेको भन्दै पाँचखालमा निर्माण हुन लागेको हरित पार्क सफल बनाउन सरकार लाग्ने बताए ।

अर्थमन्त्री प्रकाशशरण महतले पाँचखालमा निर्माण थालिएको महिला उद्यमी हरित औद्योगिक पार्कलाई आगामी बजेटमा कुनै रुपमा सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै ७ वटै प्रदेशमा स्थापना गर्ने तयारीका साथ सरकार अघि बढेको बताए ।

पाँचखाल नगर प्रमुख महेश खरेलले स्थानीय उत्पादनलाई मुल्य थप गर्नको लागि उद्योग फलदायी हुने विश्वास गर्दै १ अर्ब निर्यात गर्ने लक्ष्य लिए ।

महिला उद्यमी हरित औद्योगिक पार्क समितिका सभापति शारदा रिजालले सबैको सहयोगमा पार्क निर्माण छिटो गर्नुपर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस