रोशीमा ल्होछार बृहत कार्यक्रम

नौलो समाचार संवाददाता
२०८० माघ २२, सोमबार मा प्रकाशित १८७ पटक पढिएको
रोशीमा ल्होछार बृहत कार्यक्रम

रोशी । गाउँपालिका–११ कालढुङ्गास्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।

सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना तथा टाशी चुक्ला खाङ गुम्बा अध्ययन केन्द्रको समन्वयमा ल्होछार कार्यक्रम गरिएको हो ।

कार्यक्रम उद्धघाटन गर्दै बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको भन्दै मन्त्री लामाले सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने तर्क गरे ।

बाग्मती प्रदेशका सांसद तथा पूर्व मन्त्री रत्न ढकालले नेपालको बहुसंस्कृति र बहुपहिचान सरक्षण गर्न सक्दा मात्र नेपाल धनी हुनेमा जोड दिए । पहिचानको कुरा गर्दा देश विखण्डन तिर जाने केहीले तर्क गर्ने गरेको भन्दै उनले पहिचानसहितको संघीयता भनेको विखण्डन नभएर एकताको कुरा भएकोले त्यसका लागि एक पटक फेरी बुलन्द आवाज निकाल्नु पर्ने बताए । बागमती प्रदेशले तामाङ समुदाय र नेवार समुदायलाई सम्मान गर्दै तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको उनले तर्क गरे ।

वरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामा र जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले तामाङ समुदायले घर–घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिए ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिकाले विभिन्न समुदायको पर्वलाई समान रुपमा हेरेको बताउँदै ल्होछारको लागि गाउँपालिकाले तीन दिन विदा दिने जानकारी दिए ।

रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिनको सभापतित्वमा भएको ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर तामाङ नेपाल तामाङ, घेदुङका केन्द्रिय सदस्य फुर्साङ लामा, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय अध्यक्ष गुणराज मुक्तान, घेदुङ काभ्रेका अध्यक्ष राजकुमार लामा, रोशी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. १० का वडाध्यक्ष विकेन लामा तथा घेदुङ रोशीका अध्यक्ष कान्छाकाजी तामाङ, नेपाली कांग्रेस रोशीका सभापति दुधराज लामा, नेकपा माओवादी केन्द्र रोशीका अध्यक्ष मानबीर लामा लगायत उपस्थित थिए ।

कार्यक्रममा लामा गुरुहरुले प्रवचन र वाङ गरेका थिए ।

रोशीका दुई कलाकारलाई सम्मान
रोशी गाउँपालिकामा जन्मेर कलाकारितामा राष्ट्रियस्तरमा नाम कमाएका दुई कलाकारलाई सम्मान गरिएको छ ।

कलाकारितामार्फत राष्ट्रलाई नै योगदान गरेबापत बरिष्ठ गायक तथा लेखक चन्द्रकुमार मोक्तान र बरिष्ठ कलाकार तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव युवराज लामालाई सम्मान गरिएको हो ।

कार्यक्रममा दुई दर्जन भन्दा बढी राष्ट्रिय स्तरदेखि स्थानीय कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । वरिष्ठ गायक तथा संगितकार चन्द्रकुमार दोङ, वरिष्ठ गायिका इन्दिरा गोले, चर्चित नायक अमीर दोङ, चर्चित गायक तथा संगितकार बैरागी मोक्तान, गायक तथा संगितकार प्रयास दोङ, गायक मदन घलान, गायक तथा संगितकार च्वाइस दोङ, गायक तथा संगितकार कोसिस थोकर, गायक तथा संगितकार सुशील लामा, गायक लनम लामा, मोडल रिया लामा, गायक अशोक मोक्तान, गायक शिखर मोक्तान, हास्यकलाकार गोकुल तामाङ, गायक मकर योन्जन, गायक ब्राण्डेड लामा, गायिका पुजा लामा, गायक विजय लामा लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती गरेका थिए ।


प्रतिक्रिया दिनुहोस