धुलिखेल / काठमाडौँ विश्वविद्यालय ‘एचई उच्च शिक्षा र्याङ्किङ २०२६’ मा १२२औँ स्थानमा परेको छ ।
विश्वभरका ९५ देशका ५ सय ७ विश्वविद्यालय सहभागी र्याङ्किङमा काठमाडौँ विश्वविद्यालय १२२औँ स्थानमा रहन सफल भएको हो । र्याङ्किङमा विश्वविद्यालयहरूको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत १३६ सूचकहरू प्रयोग गरिएको थियो। र्याङ्किङ मुख्यतः दक्षिण एशिया, दक्षिण अमेरिका र पूर्वी युरोपका उदीयमान विश्वविद्यालयहरूको कार्य सञ्चालन क्षमता मूल्याङ्कनमा केन्द्रित थियो ।
मूल्याङ्कनका लागि समावेश गरिएका सूचकहरूमा समावेशिता, दिगो विकास, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान प्रणाली, क्याम्पस सुरक्षा, अन्तर्राष्ट्रियकरण, शैक्षिक निष्ठा तथा डिजिटल पहुँच लगायत रहेका छन् । शिक्षण, अनुसन्धान, सुशासन, समानता र सामाजिक प्रभावमा अर्थपूर्ण सुधारका लागि मार्गनिर्देशन गर्ने उद्देश्यले र्याङ्किङ तयार गरिएको एचई उच्च शिक्षा र्याङ्किङ संस्थाले बताएको छ ।
अमेरिकास्थित र्याङ्किङ संस्था ‘एचई हाइअर एजुकेशन र्याङ्किङ’ले विश्वविद्यालयहरूको वास्तविक सञ्चालन प्रक्रिया र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्दै तथ्यमा आधारित समग्र चित्र प्रस्तुत गर्ने गरेको छ । ‘सुविधा तथा स्रोत व्यवस्थापन, शैक्षिक पारदर्शिता र भविष्य उन्मुख योजनामा विश्वविद्यालयले विशेष सम्भावना देखाएको छ । यी पक्षहरूले संस्थालाई केवल आकर्षक शीर्षकभन्दा बढी महत्व दिन्छन् ।’ र्याङ्किङ–२०२६ को प्रतिवेदनमा उल्लेख छ, ‘एचई उच्च शिक्षा र्याङ्किङ’को विशेषता विश्वविद्यालयको सञ्चालनसँग सम्बन्धित नीति, प्रक्रिया, सेवा, उत्पादन र परिणामहरूको मापनमा जोड दिनु हो ।’

काठमाडौँ विश्वविद्यालयलाई पठाइएको इमेलमा ‘एचई उच्च शिक्षा र्याङ्किङ–२०२६’की सचिव नूरा अब्दुलजलीलले उक्त उपलब्धि विश्वविद्यालयका नेतृत्व, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पूर्वविद्यार्थीको सामूहिक प्रयास र शिक्षाप्रतिको प्रतिबद्धताको परिणाम भएको उल्लेख गरेकी छन् । ‘हामीलाई जानकारी गराउँदा खुसी लागेको छ कि काठमाडौँ विश्वविद्यालयले ‘एचई उच्च शिक्षा र्याङ्किङ–२०२६’ मा उल्लेखनीय १२२औँ स्थान हासिल गरेको छ । यो उपलब्धिले शैक्षिक उत्कृष्टता र नवप्रवर्तनप्रति तपाईंहरूको अटल प्रतिबद्धता झल्काउँछ ।’ उनले इमेलमा लेखेकी छन् ।
काठमाडौँ विश्वविद्यालयका शैक्षिक उत्कृष्टता निर्देशनालय प्रमुख प्रा. डा. हेमराज काफ्लेले यो प्रतिवेदनले विश्वविद्यालयको संस्थागत सञ्चालनबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गरेको बताए । ‘यो विस्तृत प्रतिवेदनले हाम्रो विश्वविद्यालयको सञ्चालन प्रणालीबारे केही महत्वपूर्ण जानकारी दिएको छ। यसले अन्य अन्तर्राष्ट्रिय र्याङ्किङमा सहभागी हुन आवश्यक तथ्यांक सुदृढ गर्न मद्दत गर्नेछ ।’ उनले भने ।
प्रतिक्रिया दिनुहोस