धुलिखेल / बेलर इन्टरनेशनल एकेडेमीमा कक्षा ११ को विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम गरिएको छ ।
विद्यालयले एक कार्यक्रम गरेर नयाँ शैक्षिक सत्रमा भर्ना भएका ५ सय २१ विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोककी प्रमुख सविता दंगालले विद्यार्थीहरूलाई आफ्नो पढाइप्रति अर्जुनदृष्टि राख्न आग्रह गरिन्। विद्यार्थीहरूले आफ्नो रुचि र इच्छा अनुसारको विषय रोजेर अध्ययन गर्नुपर्नेमा जोड दिँदै उनले विद्यार्थीहरू आफू रोजगार हुने मात्रै भन्दा पनि अरूका लागि रोजगारी सृजना गर्ने गरी अघि बढ्नुपर्ने बताइन् ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) काभ्रेपलाञ्चोकका अध्यक्ष श्यामबहादुर भुजेलले सपना देख्नका लागि निदाउनुपर्ने तर त्यसलाई पूरा गर्नका लागि भने ब्युँझनुपर्ने र निरन्तर मिहिनेत गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले शिक्षा र अतिरिक्त क्रियाकलापमा बेलर अरु भन्दा फरक देखिएको बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले आफ्नै अविभावकको साथमा बसेर गुणस्तरीय शिक्षा दिन बेलरले काम गरेको बताए ।

विद्यालयकी प्रिन्सिपल इन्दु थापाले नयाँ शैक्षिक सत्रमा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई बेलर परिवारमा स्वागत गर्दै उनीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गरिन्।
डिजिटल सृजनशीलता पुरस्कार वितरण
कार्यक्रममा विद्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराएर सञ्चालन गरेको ‘डिजिटल सृजनशीलता’ प्रतियोगिताको पुरस्कार वितरण गरियो ।
विद्यार्थीहरूलाई कृतिम बुद्धिमताको प्रयोग र रचनात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित पूजा रायले प्रथम स्थान हासिल गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी, निशान दाहालले दोस्रो स्थान प्राप्त गरी १० हजार रुपैयाँ र सृष्टी वाइवाले तेस्रो स्थान प्राप्त गर्दै ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारिन्।

विद्यार्थीहरूले नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेको कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, बेलर स्कुलका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस