दरबन्दी मिलान र विद्यालय समायोजन गर्न नमोबुद्धमा सरोकारवालासँग बृहत छलफल

नौलो समाचार संवाददाता
२०८३ मंसिर ११, शुक्रबार मा प्रकाशित १५८ पटक पढिएको

दरबन्दी मिलान र विद्यालय समायोजन गर्न नमोबुद्धमा सरोकारवालासँग बृहत छलफल

नमोबुद्ध / नमोबुद्ध नगरपालिकाले दरबन्दी मिलान तथा विद्यालय समायोजन सम्बन्धमा सरोकारवालाहरूसँग बृहत छलफल तथा अन्तरक्रिया गरेको छ। जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक तथा सञ्चारकर्मी लगायत सरोकारवालाहरूको सहभागितामा शिक्षा, युवा तथा खेलकुद शाखाले अन्तर्क्रिया गराएको हो ।

कार्यक्रममा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम बहादुर तामाङले ‘दरबन्दी मिलान तथा विद्यालय समायोजनका आधारहरू’ सहितको प्रस्तुतीकरण गर्दै यसका कानुनी आधार र प्रस्तावित कार्यविधिका प्रावधानहरूबारे जानकारी गराएका थिए । शाखामा कार्यरत सहायक विद्यालय निरीक्षक वीरेन्द्र सिंह साउदले विद्यालयगत वस्तुगत विवरण प्रस्तुत गरेका थिए ।

दरवन्दी मिलान तथा विद्यालय समायोजन सिफारिस कार्यदलको स्थलगत अध्ययन अनुसार, नगरका ३६ सामुदायिक विद्यालयमा कुल ३ हजार ५ सय ७० विद्यार्थी अध्ययनरत छन् । समग्र शिक्षक–विद्यार्थी अनुपात १ शिक्षक बराबर ११.५ विद्यार्थी रहेको देखाइएको छ। विद्यालय समायोजनका लागि न्यूनतम विद्यार्थी संख्या साथै दुई विद्यालयबीचको पैदल दूरी २ किलोमिटर वा ३० मिनेटभन्दा कम भएमा, विद्यार्थी संख्या निरन्तर घट्दो रहेमा वा शैक्षिक उपलब्धि सन्तोषजनक नभएमा समायोजन तथा तह मिलान गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। शाखा प्रमुख तामाङले विद्यार्थी संख्या न्यून हुनु नै प्रमुख समस्या रहेको औँल्याए ।

अन्तरक्रियामा सहभागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक एंव विद्यालयका प्रतिनिधिहरूले शिक्षक दरबन्दी अभाव, अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभावले अध्यापन समस्या, निजी स्रोतका शिक्षकको अवस्था, दिवा खाजा लगायतको समस्या राख्दै सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुमा विद्यालयको मात्र दोष नभएको तर्क गरेका थिए । उनीहरूले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी थुप्रिने अवस्थालाई वैज्ञानिक ढङ्गले समायोजन गर्नुपर्ने भन्दै दरवन्दी कटौती मात्र उपाय नभएको बताए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूले शिक्षा क्षेत्र उकासेर नगर समृद्ध बनाउने मूल उद्देश्य रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विक्रम तिवारी, नेपाली कांग्रेसका नगर सभापति कृष्ण लामा, नेकपा एमालेका नगर उपाध्यक्ष कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टीका नगर संयोजक रामकृष्ण उपाध्याय लगायतले आरोप–प्रत्यारोपभन्दा माथि उठेर सबैको सामूहिक प्रयास आवश्यक रहेको, शिक्षा क्षेत्रलाई राजनीतिकरण गर्न नहुने, तथ्याङ्कमा आधारित छलफल आवश्यक रहेको भन्दै यस प्रकारको छलफल आयोजना गरिएकामा आभार प्रकट गरे ।

नगर प्रमुख कुन्साङ लामाले कसैको विरोधमा नभई शिक्षा सुधारकै लागि कार्यदल र शाखाको सुझावका आधारमा दरबन्दी मिलान तथा विद्यालय समायोजन गरिने बताए । उनले आफैँ बिगारेर अरूलाई दोष दिने प्रवृत्ति त्यागी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै सबै सरोकारवालासँगको छलफलकै आधारमा काम अघि बढाइएको बताए ।

कार्यदल संयोजक धर्म सिं लामाले खुला बहस र छलफल आवश्यक महसुस गरेरै अनुगमनसहित सबैको सहभागिता, साथ र सहयोगबाटै दरवन्दी मिलान र विद्यालय समायोजन प्रक्रिया अघि बढाइने धारणा बताए ।






प्रतिक्रिया दिनुहोस


↑