मध्यपुरठिमी नगरपालिकाले थाल्यो घरमै पुगेर स्वास्थ्य परीक्षण

नौलो समाचार संवाददाता
२०७६ चैत्र १६, आईतबार मा प्रकाशित ४३८ पटक पढिएको
मध्यपुरठिमी नगरपालिकाले थाल्यो घरमै पुगेर स्वास्थ्य परीक्षण

चैत १६, भक्तपुर । भक्तपुर मध्यपुरठिमी नगरपालिकाले कोरोना संक्रमणका शंकास्पद व्यक्तिलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न थालेको छ । नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण रोक्न तथा फैलिन नदिन स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेको शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण र नमुना संकलन गर्न थालेको हो । सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको मेयर मदनसुन्दर श्रेष्ठले बताए ।

विदेशबाट फर्किएका व्यक्तिमा कोरोना संक्रमण हुन सक्ने आशंका बढेपछि सरकारले सबै स्थानीय तहलाई विदेशबाट फर्किएकाहरूको विवरण तयार गर्न निर्देशन दिएको थियो ।

नगरपालिकाले नगर क्षेत्रमा विदेशबाट फर्किएकाहरूको स्वास्थ्य परीक्षण गरी नमुनासमेत संकलन गर्ने गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरेको मेयर श्रेष्ठले जानकारी दिए । ‘कोरोना रोकथाम र नियन्त्रणका लागि हामीले स्थानीयस्तरमा सम्पूर्ण तयारी पूरा गरेका छौँ, अब शंकास्पद व्यक्तिको नमुना संकलन गरी परीक्षणका लागि पठाउँदै छौँ,’ उनले भने ।

नगरपालिकाले सञ्चालन गरेको कोरियामैत्री अस्पतालमा २४सै घन्टा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको मेयर श्रेष्ठले बताए । नगरपालिकाले विदेशबाट फर्र्किएका व्यक्तिहरूको अवस्थाबारे समेत विवरण संकलन गरिरहेको छ । मेयर श्रेष्ठले भने, ‘घरमै पुगेर स्वास्थ्यकर्मीले उनीहरूको साधारण स्वास्थ्य परीक्षण गर्छन्, उनीहरूको ट्राभल हिस्ट्रीदेखि सबै तथ्यांक अपडेट भइरहेको छ ।’

नगरपालिकाले शनिबारसम्ममा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरी विवरण संकलन तथा स्वास्थ्य परीक्षण गरेको छ । अहिलेसम्म कोही पनि शंकास्पद बिरामी भेटिएका छैनन् । कोरियामैत्री अस्पतालमा चारवटा भेन्टिलेटरसहितको आइसियू र १६ शय्याको आइसोलेन वार्ड पनि तयारी अवस्थामा छ ।

आइसोलेसनलाई ४० शय्यासम्म पुऱ्याउने र क्वारेन्टाइनका लागि समेत तयारी भइरहेको मेयर श्रेष्ठले बताए । मेयर श्रेष्ठले बोडेस्थित तालिम केन्द्र भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने पनि बताए ।


प्रतिक्रिया दिनुहोस